तपाईँ सुन्दै हुनुहुन्छः

सात पत्रकार चुनावी मैदानमा

सोलुखुम्बु । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सोलुखुम्बुमा सात पत्रकार चुनावी प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात जना पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् । 

पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहनुभएको छ । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका दुई जना उपाध्यक्षहरूमा विना राई नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष र भोजराज कार्कीले थुलुङदूधकोशी गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

राई नेपाली काँग्रेसबाट र कार्की माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी भएका छन् । त्यस्तै, नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका सङ्घीय परिषद् प्रतिनिधि मनोकुमार श्रेष्ठ सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष र सुजता तामाङ वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । दुवै जनाले नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको हो ।

त्यस्तै, शिखर पोष्टका प्रधान सम्पादक समेत रहनुभएका प्रकाश खालिङले माप्य दूधकोशी गाउँपालिका वडा नम्बर दुईको अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहनुभएको छ । उहाँले माओवादीको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको  हो । रहस्य साप्ताहिकमा कार्यरत डिल्ली शर्मा नेचासल्यान गाउँपालिका वडा नम्बर ३ को वडा सदस्य पदमा एमालेबाट उम्मेदवार बन्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button