चुनावी सुरक्षाका लागि अछाममा १ हजार २ सय बढी म्यादी प्रहरी परिचालन
अछाम | आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षा प्रयोजनका लागि अछाममा १ हजार भन्दा बढी म्यादी प्रहरीलाई परिचालन गरिएको छ ।
स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका १ हजार २ सय ३१ जनालाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
नेपाल प्रहरीले देशभर १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार अछाममा १ हजार २ सय ३१ जनाको आह्वान गरिएको थियो । छनोट भएका म्यादी प्रहरीलाई आवश्यकता अनुसार जिल्लाका १० वटै स्थानीय तहमा परिचालन गरिएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताउनुभयो ।
छनोट भएका म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गरिने बताइएको छ ।
४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवान सरह तलब र राशन बापत थप ७ हजार रुपैयाँ पाउने भएका छन् । चुनावमा खटिएका म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउने भएका छन् ।
उनीहरूलाई दुई जोर चुस्ता, दुई जोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्