गठबन्धनका उम्मेदवारद्वारा वीरगन्जमा संयुक्त घरदैलो अभियान सुरु
बीरगंज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरूले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।

गठबन्धनले आज वीरगञ्ज महानगरपालिका–१६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान सुरु गरेको हो ।
अभियानमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंह, उपप्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएका इम्तियाज आलम, सांसद प्रदीप यादव लगायत जसपा र काँग्रेसका कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए ।
निर्वाचन मिति नजिकिँदै गठबन्धनका साझा उम्मेदवारहरूले सुरु गरेको घरदैलोबाट वीरगन्जमा चुनावी माहौल तात्दै गएको छ ।
विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने दाबी गरिरहेको बेला गठबन्धनका उम्मेदवारहरू एक साथ हिँडेपछि चुनावी सरगर्मी तातेको छ ।
वडा १६ बाट गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेको र घर घरमा पुगेर संयुक्त रुपमा मत मागिएको मेयर पदका उम्मेदवार राजेशमान सिंहले जानकारी दिनुभयो ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, काँग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाइ कमिटीका अध्यक्ष अरुण यादव लगायत जसपा र काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्