समयमै बजेट नपठाउँदा योजना अलपत्र

जुम्ला । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जुम्लामा शुरु गरेका अधिकांश योजना अलपत्र अवस्था छन् । मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा जुम्लामा शुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजनाहरू अलपत्र परेका हुन् ।
योजना छुटाउने र शुरुको वर्षमा थोरै रकम छुट्टाएर पछि बजेट व्यवस्थापन नहुँदा सामाजिक विकास मन्त्रालयका योजना अलपत्र रहेका छन् । जसमध्ये एक योजना हो । सरस्वती मावि कुडारीको पक्की विद्यालय भवन ।
सामाजिक विकास मन्त्रालयले विगत दुई वर्षदेखि निर्माण थालेको उक्त विद्यालय भवन बजेट अभावका कारण अलपत्र परेको छ । बजेट अभावले ६ कोठे भवनको निर्माण अधुरै छ । मन्त्रालयले झण्डै ५० लाखमा विद्यालय भवन निर्माण थालेको थियो । उक्त योजना बजेट अभावकै कारण अधुरो अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक रामविलास यादवले बताउनुभयो ।
‘अहिलेसम्म पहिलो किस्ता १५ लाख,दोस्रो किस्ता नौ लाख र तेस्रो किस्ता ६ लाख गरी ३० लाख बजेट प्राप्त भएको छ ।’ प्रधानाध्यापक यादवले भन्नुभयो,“कन्टिनजेन्सी रकम काटेर बाँकी १८ लाख २० हजार ६ सय रकम मन्त्रालयले सययमै निकासा नदिँदा निर्माण काय अलपत्र परेको । विद्यालय भवन निर्माण कार्य ८० प्रतिशत सकिएपनि पूर्णता भएको छैन ।”
मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ मा मावि पूर्वाधार विकास कार्यक्रम अन्तरगत जुम्लाका आठ विद्यालयमा ६ कोठे भवन निर्माणका लागि ५०/५० लाख बजेट विनियोजन गरेको थियो । तर तिला गाउँपालिका ३ जुम्ला कुडारी स्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयको भवन सहित अन्य भवन पनि पूर्ण भएका छैनन् ।
त्यस्तै बजेट अभावकै कारण सामाजिक विकास मन्त्रालयबाट निर्माण भइरहेको भलिबल प्याराफिट अलपत्र अवस्थामा परेको छ । पातारासीमा रहेको हाईअल्टीच्युट ट्रेनिङ सेन्टर पनि वर्षौँदेखि अधुरै रहेको छ । सुविधा सम्पन्न ट्रेनिङ सेन्टर निर्माण हुने डिपिआर भएपनि माटो सम्याउने बाहेक बजेट अभावले अरू काम भएको छैन ।
यता सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले सरस्वती प्राविधिक मावि कुडारीको भवन, १४ लाख ५३ हजार ८ सय रुपैयाँ अभाव रहेको बताउनुभयो । उहाँका अनुसार पातारासीको लौठचौस्थितमा बन्दै गरेको हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर भलिबल प्याराफिट निर्माणका लागि आवश्यक एक करोड २५ लाख बजेट अपुग भएकोले माग गरिएको छ ।
पटक पटक बजेट पठाउन अनुरोध गरिएको छ । उहाँले भन्नुभयो,“मन्त्रालयले अन्तिम चौमासिकमा रकमान्तरण गरिने आश्वासन दिलाएकोले पैसा आउला भन्ने अपेक्षा गरेका छौँ । चुनावले पनि काम अघि नबढेको छैन । ”
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले आर्थिक वर्ष ०७६/०७७ मा सबै पालिकामा नमुना विद्यालय निर्माणका लागि भनेर ५० लाखको बजेट विनियोजन भएपनि कोभिड महामारीले निर्माण कार्य सम्पन्न हुन नसकेको बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष बजेट सम्बोधन हुन नसकेपनि आगामी वर्षमा अधुरो रहेका सबै योजना सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ । योजना अलपत्र हुनुमा मन्त्रालयको कमजोरी भएपनि चालु आ.व.मा बजेट रकमान्तरण हुन सक्ने अवस्था नहुँदा समस्या हुने उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्