भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग आज भेटवार्ता गरेको छ ।
चेम्बर पदाधिकारीको टोलीले पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा आज छलफल गरेको हो ।
भेटका अवसरमा अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
“अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त वातावरण बनाइदिने मात्र हो । समग्र अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ । ” उहाँले भन्नुभयो ।
व्यापार गर्नेले उत्पादन मुलुक क्षेत्रमा पनि लगानी गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको उहाँ उहाँले बताउनुभयो । मन्त्री शर्माले उद्योग, व्यवसायमैत्री वातावरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
उहाँले आवश्यक वस्तुहरूको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरूलाई व्यवस्थित तवरले आयत गर्न दिनुपर्ने बताउनुभयो । व्यापार घाटा कम गर्नका लागि निर्यात प्रवर्द्धनमा सहुलियत दिनुपर्ने उहाँको भनाई छ ।

अर्थमन्त्री शर्मासँग अध्यक्ष मल्लले भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने सुझाव समेत दिनुभएको थियो ।
“मुख्य मुख्य भन्सार नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको उच्चस्तरीय प्रयोगशाला राख्न सकियो भने गुणस्तरीय बस्तु मात्रै आयत हुने वातावरण बन्छ । यसबाट स्वाभाविक रुपमा आयात कम गर्न सकिन्छ ।”, अध्यक्ष मल्लले भन्नुभयो ।
व्यापार घाटा बढ्नुको मुख्य कारण पेट्रोलियम पदार्थको उच्च आयात रहेको भन्नुहुँदै अध्यक्ष मल्लले आगामी बजेटमा विद्युतीय सामाग्रीको उच्चतम प्रयोग हुने गरी बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबै नागरिकलाई करको दायरामा ल्याउन नागरिकता दिने समयमा नै प्यान कार्ड पनि उपलब्ध गराउने व्यवस्था गर्न सकिने बताउनुभयो । घर जग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
“घर जग्गा कारोबार ब्रोकर ब्रोकर कम्पनीमार्फत गर्न आवश्यक छ, उहाँले भन्नुभयो, “कम्पनी मार्फत कारोबारको व्यवस्था गरियो भने करको दायरामा ल्याउन सकिन्छ ।”
मुलुकको अर्थतन्त्रलाई दोहोरो अङ्कमा वृद्धि गर्ने हो भने एकल दरको ब्याजदर कायम गर्ने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गाँजाबाट औषधी तथा कपडा पनि बनाएर निर्यात गर्न सकिने भन्नुहुँदै अध्यक्ष मल्लले गाँजा खेतीलाई व्यापार घाटा कम गर्ने विकल्पका रुपमा लिनुपर्ने बताउनुभयो ।
गाँजा खेतीलाई कानुनी मान्यता दिन पनि चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासँग आग्रह समेत गरेका छन् । चेम्बर पदाधिकारीले नेपालको भन्सार प्रक्रियामा सहजीकरण नहुँदा निर्यात प्रवर्द्धन हुन नसकेको भन्दै गुनासो गर्नुभएको थियो । नेपाल चेम्बर अफ कमर्सले एकल दरको ब्याजदर कायम गर्न राष्ट्र बैङ्कलाई पनि आग्रह गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्