‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्ष उपलब्धिमूलक’

काठमाडौं। राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा भएकाे उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) द्वारा शिक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी संयुक्त रुपमा कार्यक्रमको उपलब्धिको समीक्षा गरेको छ ।
मङ्गलबार आयोजित समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले विगत सात वर्षमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकास र सहयोग, प्रारम्भिक कक्षाका बालबालिकाहरूको सुदृढ पठन सिपबाट सिकाइ उपलब्धिमा सुधार र स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्न ठोस सहयोग पुर्याएको बताउनुभयो ।
त्यसैगरी युएसएआईडी नेपाल कार्यक्रम निर्देशक सेपिदे केभानशादले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको माध्यमबाट विगत सात वर्षदेखिको नेपाल सरकार र युएसएआईडी बीचको साझेदारीले नेपालका बालबालिकाको प्रारम्भिक कक्षा सिकाइमा ठोस सुधार ल्याएको जानकारी दिनुभयाे।
“नेपाल सरकार र अमेरिकी सरकार बीचको साझेदारीको ७५ वर्ष पुगेको उपलक्ष्यमा, विद्यालय शिक्षा क्षेत्र योजना २०२१–२०३० मा उल्लेख गरिएअनुसार प्रत्येक बालबालिकाको पढाइ सिपलाई यथार्थ बनाउने मन्त्रालयको लक्ष्य गर्ने एकीकृत प्रयासमा ठोस सहकार्यलाई हामी निरन्तरता दिन चाहन्छौँ, ” केभानशादले उल्लेख गर्नुभयो ।
सन् १९५० मा कलेज अफ एजुकेसनको स्थापना सँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको थालनी गरेको थियो । त्यस पश्चात् अमेरिकी सरकारले नेपाल सरकारसगँकाे सहकार्यमा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्