तपाईँ सुन्दै हुनुहुन्छः

ओडिआई सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्ने

काठमाडौँ । नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल, अमेरिका र ओमानबिचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्ने छ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्ष स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारसहित छैटौँ स्थानमा छ । विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।

नेपालले अमेरिकापछि उतैबाट स्कटल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच सिरिज हुनेछ । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने छ ।

नेपाल हाल भने घरेलु मैदानमा जिम्बावे ए सँग तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्दै छ । लिस्ट ए र टी२० मान्यता नहुँदा यो सिरिज अभ्यास सरह हुनेछ । नेपाल र जिम्बावे ए बिच पहिलो एक दिवसीय खेल शनिबार टियु मैदानमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button