जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालय समय बिहान साँढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म कायम गरिएको मन्त्री कार्कीले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने ८० मिलियन डलर बरावरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्याललाई बढुवा गर्ने तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीहरूको सेवा निवृत्त सुविधा जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने तथा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले उत्तर दक्षिण मूल घाट दोभान ओलाङ्चुङ गोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले मध्य मोदी जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि मोदी गाउँपालिका वडा नं. २ को देउपुरदेखि सोही गाउँपालिका वडा नं. ३ कोरूङगा सम्मको १ दशमलव ९७ हेक्टर क्षेत्रफलको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
जेठ १ गतेदेखि हप्तामा दुई दिने बिदा दिने सरकारको निर्णय (भिडियो ):








प्रतिक्रिया राख्नुहोस्