मेयरको टिकट खोसेपछि महतोद्वारा एमाले पार्टी परित्यागको घोषणा

बर्दिबास । धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोले नेकपा एमाले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
पार्टीको केन्द्रीय सदस्य एवम् धनुषाको सह इन्चार्ज समेत रहनु भएका महतोले आजैको मितिबाट साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
सोमवार मेयर पदमा स्वतन्त्र मनोनयन दर्ता गराएपछि रेडियो नेपालसँग कुराकानी गर्दै नेता महतोले पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत जग्गा व्यापारीलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
यसअघि एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनुभएको छ । निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले बताउनुभयो ।
पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्