कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबीच मात्रै गठबन्धन
कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै गठबन्धन भएको छ । गठबन्धनमा रहेको काँग्रेसभित्रका विभिन्न गुटका कारण पाँच दलीय गठबन्धन हुन नसकेपछि माओवादी र समाजवादीबीच मात्रै गठबन्धन गर्ने सहमति भएको हो । नौ पालिका रहेको कञ्चनपुरमा माओवादी केन्द्रले पाँच र समाजवादीले चार पालिका प्रमुख पाएका छन् ।
६ उपप्रमुख माओवादी र तीन उपप्रमुख समाजवादीले पाएको छ भने ९२ वडा मध्ये ५३ माओवादी केन्द्र र ३९ समाजवादीले पाएको छ । सहमतिपछि समाजवादी र माओवादीका नेताहरूले संयुक्त वक्तव्य प्रकाशित गरेर गठबन्धनको भागबन्डा गरेका छन् । बेलडाँडी र लालझाडी गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै माअोवादी केन्द्रले पाएको छ ।
बेलौरीमा प्रमुख माओवादी र उपप्रमुख समाजवादी, पुनर्वासमा प्रमुख समाजवादी, उपप्रमुख माओवादी, कृष्णपुरमा प्रमुख माओवादी, उपप्रमुख समाजवादी, शुक्लाफाँटामा प्रमुख माओवादी उपप्रमुख समाजवादी, बेदकोटमा प्रमुख समाजवादी उपप्रमुख माओवादी, भीमदत्त नगरमा प्रमुख समाजवादी, उपप्रमुख माओवादी र दोधाराचाँदनीमा समाजवादी प्रमुख, माओवादीले उपप्रमुख पाएको छ । पालिका प्रमुख र उपप्रमुख आ–आफ्नो चुनाव चिह्नबाट लड्ने र वडाध्यक्ष पाउने दलकै चिह्नबाट वडामा चुनाव लड्ने सहमति भएको छ ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज टेकेन्द्रप्रसाद भट्ट, समाजवादीका इन्चार्ज लालबहादुर खड्का, माओवादीका जिल्ला संयोजक खेमराज पाण्डे र समाजवादीका जिल्ला अध्यक्ष जीवनराज थापाले संयुक्त रूपमा हस्ताक्षर गरेको वक्तव्यमा स्थानीय आवश्यकता, लोकप्रियता समावेशी समानुपातिक प्रतिनिधित्वको मर्मलाई ध्यानमा राखेर दुवै दलबीच सहमति भएकाले गठबन्धनका उम्मेदवार आह्वान गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्