तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा एमालेको उम्मेदवार फेरबदल, बहालवाला मेयरको टिकट खोसियो

बर्दिबास । नेकपा एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयर पदको लागि राजाराम महतोलाई उम्मेदवार बनाएको छ । पार्टीको नगर कमिटीले सर्वसम्मत रुपमा बहालवाला मेयर हरिनारायण महतोलाई एकल सिफारिस गरेपनि पार्टीले अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको हो ।

पार्टीले आफूलाई मेयरको टिकट दिएको राजाराम महतोले जानकारी दिनुभयो । तोकिएको समयअघि नै ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

राजारामले अघिल्लो चुनावमा काँग्रेसबाट बागी बनेर स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएर पराजित हुनुभएको थियो । मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गर्नुभएको थियो ।

अघिल्लो चुनावको मत परिणाममा तेस्रो स्थानमा रहनुभएका राजाराम महतोलाई केही वर्ष अघि मात्रै बहालवाला मेयर हरिनारायण महतोले नै पहल गरेर एमालेमा प्रवेश गराउनुभएको थियो । तर एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजारामलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

यसअघि मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्वसम्मति रुपमा पुनः बहालवाला मेयर हरिनारायण महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button