भागबन्डा नमिल्दा जुम्लामा गठबन्धन टुट्यो, एक्ला एक्लै चुनाव लड्ने

जुम्ला । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागवण्डामा सहमति नभएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी बीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको हो । आइतबार अन्तिम समयसम्म पनि बैठक बस्दा भागबण्डा नमिलेपछि गठबन्धन असफल भएको हो ।
चैत २६ गते सम्पन्न जुम्लाका सत्तारुढ दलहरू बीचको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय सहित प्रेश विज्ञप्ति जारी भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले भन्नुभयो,“जुम्लामा पनि धेरै पटक छलफल भयो । प्रदेश गठबन्धनले पठाएको निर्णयको पनि हामीले स्वागत गर्यौ । तर प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो ।”
काँग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भने पछि गठबन्धनको प्रयास असफल भएको उहाँले बताउनुभयो । मनोनयन दर्ता गर्ने समय भइसक्यो । पार्टीहरू बीच एक आपसमा कुरा नमिलेपछि सत्ता गठबन्धन एक्ला एक्लै चुनाव लड्ने स्थित आएको नेकपा एसका जुम्ला अध्यक्ष तीर्थ बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेश गठबन्धनको निर्णय अस्वीकार गरेका हौँ । हामीले गुठीचौर र हिमा गाउँपालिकामा अध्यक्ष मागेका थियौ । तर काँग्रेस र माओवादीले दिन नमाने भएपछि गठबन्धन टुट्ने स्थितिमा पुगेको हो । अब एक्लै लड्ने हो ।”
नेपाली काँग्रेस पार्टीका पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागवन्डा नमिल्दा आजदेखि गठबन्धन टुटेको बताउनुभयो । मनोनयन दर्ता गर्ने समय नजिकिएको र दलहरुबीच पनि सहमति नजुटेको अवस्थामा गठबन्धन टुटाउनुको विकल्प नरहेको उहाँको भनाई छ ।
यसैबीच जुम्लामै पहिलो चन्दननाथ नगरपालिकाको मेयर र उपमेयर पदका लागि नेपाल मजदुर किसान पार्टीबाट मनोनयन दर्ता भएको छ । मेयरका लागि जयकृष्ण धराला र उपमेयरमा हस्तना खत्रीले पहिलो मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
गठबन्धन नहुने भएपछि अन्य दलहरूले पनि मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । सोमबार (आज) देशभर सँगै जुम्लाका राजनीतिक दलहरूले पनि पालिका केन्द्रमा स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्