भोजपुरका दुई नगरपालिकामा कांग्रेस र एमालेले टुङ्गो लगायो उम्मेदवार

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरका दुई नगरपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले भोजपुरले प्रमुख पदको उम्मेदवारी टुङ्ग्याएका छन् ।
नेपाली काँग्रेसले भोजपुर नगरपालिकामा पुन कैलाश कुमार आलेलाई प्रमुखमा उठाउने निर्णय गरेको छ । आले हाल पनि नगरप्रमुख हुनुहुन्छ ।
आलेले २०७४ को स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार गणेश कुमार श्रेष्ठलाई ३६ मतको अन्तरले पराजित गर्दे विजयी बन्नुभएको थियो ।
आलेले चार हजार ७० मत र श्रेष्ठले चार हजार ३४ मत प्राप्त गर्नु भएको थियो । भोजपुर नगरपालिकामा गठबन्धन भएकाले उपप्रमुख भने नेकपा (एकीकृत समाजवादी)बाट चयन हुने छ ।
त्यस्तै भोजपुर नगरपालिकामा नेकपा एमालेले भने भरत कुमार तामाङलाई प्रमुख र उपप्रमुखमा निर्मला शेर्पालाई उपप्रमुख बनाउने निर्णय गरिसकेको छ । तामाङ प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने शेर्पा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ ।
यता जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिकामा भने नेपाली काँग्रेसले पुरानै प्रमुख बिरबल राईलाई पुन उम्मेदवार बनाउने भएको छ भने नेकपा एमालेका तर्फबाट सुरेन्द्र उदासलाई प्रमुख र अहिलेकी उपप्रमुख मेरिका राईलाई उपप्रमुख कै उम्मेदवार बनाउने भएको छ ।
२०७४ मा पनि अहिलेकै उम्मेदवारका बिचमा प्रतिस्पर्धा भएको थियो । जसमा काँग्रेसका राईले चार हजार ९ सय ८६ मत ल्याएर विजयी हुनुभएको थियो भने उदासले चार हजार ६ सय ९४ मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा एमालेकी मेरिकाले चार हजार ६ सय ९७ मतसहित विजयी हुनु भएको थियो भने काङ्ग्रेसबाट उपप्रमुख बन्नुभएकी सिता श्रेष्ठले चार हजार ४ सय १३ मत ल्याउनुभएको थियो । गठबन्धन अनुसार षडानन्दको उपमेयर पद भने यस पटक नेकपा (माओवादी केन्द्र) ले पाएको छ ।








प्रतिक्रिया राख्नुहोस्