पुम्दीकोटको महायज्ञमा डेढ करोड सङ्कलन

कास्की । पोखराको पुम्दीकोटमा जारी महायज्ञमा करिब डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तर्गत शनिवारसम्म १ करोड ६१ लाख रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ ।
महायज्ञमा जग्गासमेत दान दिनेहरूको सङ्ख्या समेत बढ्न थालेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । महायज्ञमा अहिले सम्म एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान मार्फत प्राप्त भएको बरालले बताउनु भयो ।
महायज्ञको सातौँ दिन शनिबार करिब ४० लाख रुपैयाँ सङ्कलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताउनु भयो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरू पोखरा र पोखरा आसपासबाट ठूलो सङ्ख्यामा उपस्थित भएको समितिले जनाएको छ । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्दै आउनु भएको छ ।

दाताहरूलाई महायज्ञ स्थलमा पन्चे बाजागाजासहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको छ । २०७३ फागुन ३ देखि १३ गतेसम्म सञ्चालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको अध्यक्ष बरालले यसपालि करिब ६ करोड सङ्कलन हुने अपेक्षा गरिएको बताउनु भयो ।
परिमार्जित परियोजनाअन्तर्गत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मूर्ति स्थापना गर्ने, भुमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चियर कार निर्माण गर्ने, गरी पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजनाअन्तर्गत ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डम्मरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी), १ सय ८ स्वर्गद्वारी सिँढी निर्माण सम्पन्नको चरणमा रहेका छन् ।
त्यसैगरी एक सय ८ धारा जडित तेस्रो आँखा, २ सय १६ शिव लिङ्ग, शिव ताण्डव नृत्य हल, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मनोरेलद्वारा गणेश परिक्रमा, फुलमाला बिक्रीको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकीय भवन, शौचालयलगायतका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनु भयो । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए ।
पुम्दीकोटलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न विशाल महादेवको मूर्ति अभियानमा थप आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न महायज्ञ सञ्चालन गरिएको समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्