सैनडी गाँउमा खानेपानीको समस्या
बझाङ । सेवा सुविधा खासै नभएको तर नगरपालिका घोषित बझाङको दुर्गम बुंगल नगरपालिका ९ सैनडी गाँउमा खानेपानीको निकै समस्या छ ।
भिरालो डाँडोमा बस्ती रहेको सैनडी गाउँ लगायत अन्य त्यहाँका आसपासका गाउँ बस्तीमा पनि खानेपानीको दुख उस्तै छ ।
जिल्लाका कतिपय गाउँ बस्तीमा एक घर एक धारा जडान गरी खानेपानीको सेवा सुविधा राम्रो भए पनि तर कतिपय गाउँ बस्तीमा भने खानेपानी समस्याको समाधान हुन सकेको छैन ।

५० घर धुरी रहेको सैनडी गाँउमा गाउँभित्र टोल बस्तीमा सामूहिक धारा समेत नहुँदा त्यहाँका मान्छेहरू अहिले पनि खोलाको छेउमा रहेको परम्परागत मुहान बाट नै पानी बोकेर उपयोग गर्ने गर्दछन् ।
‘हामीलाई अरू समस्या त कति छन् कति’ स्थानीय राजमती बोहराले भनिन् ‘तर खानेपानीको समस्या सबैभन्दा ठुलो छ यहाँ ।’ पानीको मुहान गाउँ भन्दा होचो ठाउँमा भएकाले पनि गाँउमा धारा बनाउन नसकेको उनले बताइनन् ।
वडाध्यक्ष देउमल धामीले हाल उपयोग भएको पानीको मुहान गाउँभन्दा होचो ठाउँमा भएको र अर्को मुहान टाढा भएकाले गाँउमा खानेपानीका धारा बनाउन नसकिएको बताए ।

पानी बोक्न गाह्रो हुने भएकाले यस गाँउमा चर्पीहरू पनि खासै उपयोगमा छैन भने अन्य व्यक्तिगत र बाह्य सरसफाइ पनि त्यति हुँदैन ।
३९ हजार घरधुरी रहेको बझाङमा ६ हजार घरधुरीमा मात्र एक घर एक धारा बनाएको तथ्याङ्क छ भने अन्य गाँउमा सामूहिक धारा बाट नै खानेपानीको उपयोग गरेका छन् ।
बस्तीहरू डाँडाकाँडामा भएकाले परम्परागत पानीका कुवा मुहान सुकेर पनि धेरै गाँउमा पानीको समस्या बल्झँदै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्