डब्ल्युएचओका महानिर्देशकद्वारा नेपाल सरकारको प्रशंसा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारी विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गर्नुभएको छ ।
उहाँले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्नुभएको हो ।
प्रधानमन्त्री देउवासँग आज भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा.टेड्रोसले बताउनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
त्यस अवसरमा डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
नेपालले छोटो समयमै बाल तथा मातृ मृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उहाँले प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभएको थियो ।
साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्व स्वास्थ्य सङ्गठनलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्