एमालेबाट अरुण गाउँपालिका अध्यक्षमा घिमिरे र उपाध्यक्षमा राई

भोजपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भोजपुरले जिल्लाको पूर्वी अरुण गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ ।
एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । पालिका कमिटीको बैठकले अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे अघिल्लो २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका गजेन्द्रबहादुर कार्कीसँग अध्यक्षमा पराजित बन्नु भएको थियो । पार्टीले पुन उनलाई नै अध्यक्ष बनाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसका कार्कीसँग घिमिरे छ सय १ मतान्तरले पराजित हुनु भएको हो । कार्कीले दुई हजार ७ सय २७ मत ल्याउँदा घिमिरेले दुई हजार १ सय २६ मत प्राप्त गर्नु भएको थियो । यहाँ माओवादीबाट अध्यक्षमा उठेका विमल खड्का एक हजार ४ सय २० मत ल्याएर तेस्रो बन्नु भयो ।
अरुण गाउँपालिकामा ७ वटा वडाहरू छन् । जसमा वडा नम्बर ७ माओवादी केन्द्र बाहेक अन्य ६ वडाध्यक्ष र पालिका अध्यक्ष तथा उपाध्यक्ष काँग्रेसले जितेको थियो । यहाँ यस पटक पनि सत्ता गठबन्धनका दलहरूले स्वच्छ प्रतिस्पर्धा भन्दै आ-आफ्नो पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरी सकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्