तपाईँ सुन्दै हुनुहुन्छः

छाङरु र तिंकर मतदान केन्द्रको अनुगमन

दार्चुला । भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले बिहीबार मतदान केन्द्रहरूको निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङरु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।  छाङरु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहाँ स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । त्यस क्षेत्रसम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहीबाट व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

निर्वाचन सामग्री र कर्मचारीहरूलाई भने हेलिकोप्टर मार्फत पुर्‍याइने  छ । व्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरमा दुई वटा मतदान केन्द्र छन् । निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन् । हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यासवासी भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन् । भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । उहाँका अनुसार छाङरु र तिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button