घरमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । बिहीबार बिहान करिब ११ः१५ बजे तिर भएको आगलागीबाट स्थानीय लक्ष्मी श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै कारण पत्ता लागि नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो ।

करिब एक घण्टापछि स्थानीयवासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो । आगो समयमा नियन्त्रण भएका कारण थप क्षति र अन्य घरमा सल्किन पाएको थिएन ।
आगलागीमा ३ लाख नगद, १० तोला सुन, २० तोला चाँदी लगायतका सम्पत्ति नष्ट भएको पीडितले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । सो घरमा टेलरिङ पसल सञ्चालनमा थियो ।








प्रतिक्रिया राख्नुहोस्