अदालतको आदेश पछि पीडित झा आफ्नै घर छिर्न सफल

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६ निवासी घरेलु हिंसा पीडित ब्युटी झा इन्सेक लगायत अधिकारकर्मीहरूको पहल र प्रहरीको सहयोगमा आफ्नो घर प्रवेश गर्नु भएकी छिन्। घरेलु हिंसा पीडित २२ वर्षीया झाले मङ्गलवार ६ गते राति अधिकारकर्मीहरूको पहलमा घर प्रवेश पाएकी छिन् ।
पीडित ब्युटी लाई उहाँकी सासू शान्ति झा र ससुरा वासुदेव झाले घरभित्र पस्न नदिए पछि आफ्नो घर अगाडि वैशाख ६ गते ३ घण्टा धर्नामा बसेकी थिइन्। बुहारी ब्युटीको आफ्नै घर अगाडी धर्ना र छरछिमेक, अधिकारकर्मी, सञ्चारकर्मी लगायतको भिड लागेपछि दिनभरि अवस्था तनावग्रस्त भएको थियो। पछि प्रहरीले जिल्ला अदालतको वैशाख ६गतेको सुरक्षणात्मक अन्तरिम आदेश अनुसार पीडितलाई घरमा शान्तिपूर्वक बस्न नदिए कानूनी कारबाही गर्ने भनेपछि झा परिवार ब्युटी लाई घरभित्र प्रवेश गराउन सहमत भएको एसपी अभिनारायण काफ्लेले बताउनुभयो।

पीडित ब्युटीको सामाजिक परम्परा अनुसार २०७७ मङ्सिर २५ गते ३० वर्षीय विपिन झासँग विवाह भएको थियो। विवाहको पार्टीकै रातिदेखि घरेलु हिंसामा परेको बताउनु भएकी ब्युटीले घरपरिवारलाई रिझाउने धेरै पटक प्रयास गरेको बताउनुभयो। भारत विहार अररिया–१३ खरैया माइती भएकी पीडित ब्युटी भन्छिन् झा एउटा केटोसँग विवाह भए पछि अर्को विवाह गर्न नपाउने परम्परा रहेकोले अब हामी कहाँ र कसरी जीवन बिताउने चिन्तामा रहेको छ।
साउथ अफ्रिका बस्दै आएका पति विपिन वैशाख ९ गते हुने कान्छी बहिनीको विवाहका लागि नेपाल आएको जानकारी पाएपछि ब्युटी माइतबाट राजविराज घर आएकी हुन्। पुजारीलाई शुभ दिन देखाएर घर भित्र्याउने पटक पटकको वाचाबाट विपिनका परिवार पन्छिँदै गए पछि ब्युटीले वैशाख ५ गते सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी दिनु भएको थियो ।
न्यायाधीश प्रमेश पोखरेलको इजलासले वैशाख ६ गते पीडितलाई घरमा बस्न दिनु, खान लाउन दिनु, कुटपिट नगर्नु, शिष्ट र सभ्य व्यवहार गर्नु भन्दै अन्तरिम सुरक्षणात्मक आदेश जारी गर्नु भएको छ।








प्रतिक्रिया राख्नुहोस्