तपाईँ सुन्दै हुनुहुन्छः

किसान समुदाय: सामाजिक सुरक्षा भत्ता शिक्षाका लागि वरदान

झापा । छिमेकीका नानीहरू ड्रेसमा सजिएर बोर्डिङ स्कुल गएको देख्दा मेचीनगर नगरपालिका–९ की ७० वर्षीया ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसै गरी पढ्न पठाउन पाए हुनेथ्यो भन्ने लाग्थ्यो ।

आर्थिक अभावका कारण त्यो उहाँको लागि धेरै टाढाको कुरा थियो तर समयले कोल्टे फेर्‍यो । उहाँको इच्छा छोराको पालामा पूरा नभए पनि नातिको पालामा भने पूरा भयो । आज उहाँका १० देखि १५ वर्षसम्मका नातिनातिना छिमेकीका नानी झैँ सजिएर बोर्डिङ स्कुल जान थालेका छन् । उनीहरूलाई बोर्डिङसम्म पुर्‍याउन सामाजिक सुरक्षा भत्ताले सहयोग गरेको उहाँको भनाइ छ ।

“भात खानै समस्या थियो उ बेला”, ज्योतिले भन्नुभयो, “आज सरकारले दिने भत्ताले सजिलो बनायो । नानीहरूलाई पनि पढ्नका लागि सरकारीदेखि बोर्डिङसम्म पुर्‍यायो ।” उहाँका तीन जना नाति र नातिनी छन् । तीनै जनालाई उनीहरूकै नाममा आउने सामाजिक सुरक्षा भत्ताले पढ्ने खर्च पुगेको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिलासँगै लोपोन्मुख समुदायलाई समेत सामाजिक सुरक्षा भत्ता दिँदै आएपछि आर्थिक अभावमा छोराछोरीलाई शिक्षा दिन नसकेका किसान समुदायका लागि वरदान साबित भएको हो ।

नेपालमै मेचीनगर नगरपालिकामा मात्रै बसोबास गर्दै आएको यो समुदाय अति विपन्न भएकै कारण शिक्षा र स्वास्थ्यबाट विगतदेखि नै वञ्चित हुँदै आएको थियो । “सरकारले दिएको सुरक्षा भत्ता हामी मासिदिँदैनौँ”, किसानका राजाको रूपमा रहनुभएका मेचीनगर–९ का सुन्दर लाल किसानले भन्नुभयो, “उनीहरूको शिक्षामा लगानी गरिरहेका छौँ ।”

किसान समुदायका बालबालिका शिक्षित भएसँगै अहिले उनीहरूको परिवार र बस्ती नै शिक्षित महसुस भएको उहाँको भनाइ छ । उहाँले अधिकांशले छोराछोरीलाई बोर्डिङ र सरकारी स्कुल पठाउने गरेको बताउनुभयो । बालबालिकाको नाममै आएको रकमले मासिक शुल्क तिर्ने, खाजा लगायतका उनीहरूलाई आवश्यक सामग्री खरिद गर्न पुग्दै आएको उहाँले जानकारी दिनुभयो ।

किसान समुदायका अगुवा जोगी किसानले भत्ताकै कारण समुदायको चेतना स्तरमा समेत सुधार आएको बताउनुभयो । उहाँले खेतबारी पनि नभएका र रोजगारी समेत नपाइरहेको अवस्थामा पाएको भत्ता धेरैको जीवन गुजाराको माध्यम भएको बताउनुभयो ।

उहाँका अनुसार विगतमा जाँडरक्सी खाएर सकिने भत्ताको समुदायमा आएको सामाजिक चेतनाले शिक्षामा लगानी हुन थालेको हो । यो समुदायका पुरुषभन्दा स्कुल, कलेज गएर पढ्ने विद्यार्थीमा महिला बढी छन् । हाल एसएलसी पास गर्नेको सङ्ख्या २०० बढीको हाराहारी छ । त्यसै गरी प्लस टु पास गर्ने ७० भन्दा बढी र स्नातक गर्नेको सङ्ख्या २० को हाराहारीमा रहेको उहाँको भनाइ छ ।

सरकारले २०५२ सालदेखि ज्येष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सघाउनका लागि रु १०० का दरले भत्ता दिन थालेको थियो । हाल सो रकम बढेर मासिक रूपमा चार हजार पुगेको छ । सरकारले अझै भत्ता बढाइदिए रोजगारी नभए पनि बाँच्न समस्या नहुने उनीहरूको बुझाइ छ ।

झापाको मेचीनगर, बाहुन डाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारी लगायत स्थानमा बसोबास रहेको सो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिक रूपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसा र दैनिक ज्याला मजदुरी गरेर उनीहरूले आफ्नो जीविका चलाउँदै आएका छन् ।

विसं २०६८ को जनगणनाअनुसार किसान समुदायको जनसङ्ख्या १ हजार ९०० थियो । विसं २०७८ को जनगणनाको तथ्याङ्क सार्वजनिक नहुँदा उनीहरूको जनसङ्ख्या बढेको छ या घटेको छ भन्ने यकिन हुन बाँकी नै छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button