तपाईँ सुन्दै हुनुहुन्छः

‘चुनावका बेला गलत समाचारबाट बच्नुपर्छ’

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताउनुभएको छ । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्‍याउनुपर्ने उहाँको भनाइ छ ।

file photo

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा आयोजना गरेको सञ्चारकर्मीको एक दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना, दुष्प्रचार र गलत समाचारबाट प्रत्येक सञ्चारकर्मी जोगिनुपर्ने बताउनुभयो ।

उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत् बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गर्नुभयो ।

निर्वाचनका समयमा निर्वाचन आचारसंहिताको पालना गर्ने पहिलो पङ्क्तिमा सञ्चारकर्मी हुने भएकाले नै राजनीतिक नेताहरूले आचारसंहिता उल्लङ्घन गरेमा सचेत गराउन सक्ने उहाँको तर्क छ ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी पनि बस्नेतले दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button