तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा पालिखे निर्वाचित

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । जिल्लाको आँबुखैरेनीमा भएको जिल्ला फुटबल सङ्घको साधारण सभामा पालिखे अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
तनहुँ जिल्ला फुटबल सङ्घको चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रतिनिधि लाल बहादुर ज्वारचनको पर्यवेक्षणमा सोमबार भएको चुनावमा ६ भोट हासिल गर्दै पालिखे अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
१० क्लब सहभागी निर्वाचनमा पालिखेले ६ र अध्यक्षका अर्का प्रत्याशी सोम थापाले ४ मत प्राप्त गर्नुभयो ।
तनहुँमा अध्यक्ष बाहेक सबै पदमा निर्विरोध पदाधिकारी चयन भएको छ । सोमबार चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि तिमिल्सना, दिनेश केसी र भिजन श्रेष्ठ समेटिँदा महिला सदस्यमा सविता भट्टराई निर्वाचित हुनुभयो ।
यस्तै, सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्थ, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भइरहेका छन् । एन्फाको जिल्ला निर्वाचन दश गतेसम्म सक्ने कार्यतालिका रहेको छ ।
केन्द्रीय निर्वाचनका लागि ४८ जिल्लामा निर्वाचन हुँदैछ । त्यसमध्ये ४५ जिल्लाले मताधिकार पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौँमा हुदैछ ।








प्रतिक्रिया राख्नुहोस्