तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाको मेयर काँग्रेसले पाउनुपर्ने माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर नेपाली काँग्रेसले पाउनुपर्ने माग गर्दै कार्यकर्ताहरूले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कांग्रेस हेटौँडा नगरको बैठक बसिरहेको बेला उपस्थित नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिन पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । 

नेपाली कांग्रेस हेटौँडाका १९ वटै वडा सभापतिहरूले मेयर आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै संयुक्त रुपमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको नगर सभापति उत्सव इटेनी बताउनुभयो । नगर सभापति इटेनीको सभाध्यक्षतामा आज बसेको बैठकमा सहभागी वडाका सभापतिहरूले काँग्रेसबाट जो उम्मेदवार भएपनि स्विकार्ने तर मेयर पद अरूलाई छोड्न नहुने कुरामा जोड दिएको उहाँले बताउनुभयो । 

नगरमा गठबन्धनका अन्य दल भन्दा काँग्रेसको प्रभाव बलियो रहेकाले मेयर नै लिनुपर्नेमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । जनाधार बलियो भएको बेला अरूलाई मेयर जिम्मा लगाए विद्रोह हुने उनीहरूले चेतावनी समेत दिएका छन् । 

नेतृत्व तहले यसबारे तल्लो तहसँग पनि समन्वय गर्दा राम्रो हुनेमा उनीहरूको जोड छ । मेयरमा हेटौँडा नगर समितिले आनन्दराम पराजुली, उत्सव ईटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button