‘निष्पक्ष निर्वाचनमा कर्मचारीको भूमिका महत्त्वपूर्ण’
मकवानपुर । मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठुलो जिम्मेवारी रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा आयोजित कार्यालय प्रमुखहरूको बैठकमा निर्वाचन आचार संहिताको पालना र निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीले कुनै पनि राजनैतिक दलको प्रचारप्रसार नगरी र विभिन्न कार्यक्रममा भाग नलिई तटस्थता देखाउनुपर्नेमा जोड दिनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष गराउनु सबैको साझा दायित्व रहेको बताउँदै स्थानीय तहको निर्वाचनलाई उत्साहजनक बनाउनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जिल्लामा निर्वाचनमा खट्ने कर्मचारीको विवरण सङ्कलन, मतदान स्थलको निरीक्षण, अनुगमन र सम्बन्धित निकायहरूसँग समन्वय र छलफल भइरहेको जानकारी दिनुभयो ।
जिल्लाका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न संस्थानका कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकमा सहभागीहरूले निर्वाचनका विषयमा जिज्ञासा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्