तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सप्तरी उपसभापति यादवद्वारा पदभार ग्रहण

राजविराज । पुनः गणनामा एक मतले निर्वाचित हुनुभएका नेपाली कांग्रेस, सप्तरीका उपसभापति रामकुमार यादवले आज सोमबार पदभार ग्रहण गर्नु भएको छ । 

यादवलाई राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराउनु भएको  हो । 

पदभार ग्रहणमा जिल्ला सभापति साहसहित संविधान सभा सदस्य रञ्जित कर्ण, क्षेत्र नम्बर ४ का सभापति सिताराम साह, प्रदेश क्षेत्रिय सभापति उमेश मिश्र, राजविराज नगर सभापति आनन्द झासहितकाले उप सभापति यादवलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिनुभएको छ । 

जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनको मतगणना हुँदा ६ मतले पराजित भएका यादवलाई केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाण पत्र दिएको छ । 

जिल्लामा भएको गणना अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए । डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए ।

रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए । 

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिट समेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापतिको प्रमाण पत्र दिएको छ । केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ । 

पार्टीका जिल्ला सचिव सनत मण्डलले केन्द्रीय परिपत्र अनुसार यादवलाई उपसभापति पदमा पदस्थापन गरिएको बताउनुभयो । केन्द्रीय निर्वाचन समितिले गरेको निर्णय बदर गर्न संस्थापन पक्षले माग गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button