आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व असुली लक्ष्य भन्दा १९ प्रतिशतले कम

चितवन । चालु आर्थिक बर्ष ०७८।७९ को चैत्र महिनामा आन्तरिक राजश्व कार्यालयको कर असुली लक्ष्य भन्दा १९ दशमलव २७ प्रतिशत कम असुली भएको छ ।
कार्यालयका अनुसार उक्त महिनामा विभागले २ अर्ब २४ करोड ११ लाख ९० हजार लक्ष्य दिएकोमा चैत्र महिनामा १ अर्ब ८० करोड ९४ लाख राजश्व असुली गरेको हो । असुली भएको कर शीर्षक मध्ये स्वास्थ्य सेवा कर बाहेक अन्य शीर्षकमा लक्ष्य पार गर्न सकेको छैन । जस अनुसार स्वास्थ्य सेवा कर शीर्षकमा ४ लाख १६ हजार लक्ष्य दिइएकोमा चैत्र महिनामा २७ लाख ७ हजार असुली भएको छ ।
कार्यालयका अनुसार असुली भएको शीर्षकमध्ये सबैभन्दा बढी कर असुली अन्त शुल्क शीर्षकमा र शिक्षा सेवा करमा कुनै पनि राजश्व असुली भएको छैन । जस अनुसार अन्तःशुल्क शीर्षकमा चैत्र महिनामा १ अर्ब ४० करोड ४४ लाख ७५ हजार असुली भएको छ । यस शीर्षकमा उक्त महिना १ अर्ब ६३ करोड ३३ लाख ४४ हजार रुपैंयाको लक्ष्य दिइएको थियो । शिक्षा सेवामा विभागले ४ लाख ६७ हजार रुपैंयाको लक्ष्य दिएको थियो ।
यस्तै आयकर शीर्षकमा ३७ करोड ९ लाख ३७ हजार लक्ष्य दिएकोमा २५ करोड ९ लाख ६ हजार रुपैंया असुली, बहाल कर शीर्षकमा ६१ लाख ७८ हजार लक्ष्य दिइएकोमा ३५ लाख २६ हजार , व्याजकरमा १ करोड ११ लाख ८२ हजार लक्ष्य दिइएकोमा २६ लाख ४७ हजार असुली र मूल्य अभिवृद्धि कर शीर्षकमा २१ करोड ८६ लाख ६६ हजार लक्ष्य दिएकोमा १३ करोड ७० लाख ३९ हजार रुपैंया असुली भएको छ ।
कार्यालयका कर अधिकृत सुशील लम्सालले चितवन नभई देशभरका आन्तरिक राजश्व कार्यालयमा लक्ष्य भन्दा कम राजश्व सङ्कलन भएको बताउनुभयो । ‘बजारमा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा, फाइदा कम हुन्छ, आयकर पनि कम हुन्छ उहांँले भन्नुभयो, तरलताको असर र सरकारी बजेट खर्च नभएको कारण पनि राजश्वमा असर पर्ने गर्छ ।’
भरतपुरको आन्तरिक राजश्व कार्यालयको मुख्य करको स्रोत मदिराजन्य बस्तु भएकोले यसको उत्पादन र खपत कम हुँदा समग्र राजश्व असुलीमा असर पर्ने लम्सालले बताउनु भयो । वैशाख महिनादेखि निर्वाचनको चहलपहल सँगै अन्य आर्थिक गतिविधि बढ्ने हुनाले राजश्व सङ्कलन हुने उहाँको भनाई छ ।
कार्यालयका अनुसार विभागले चैत्र महिनासम्म १५ अर्ब ३ करोड ४२ लाख ४ हजार लक्ष्य दिएकोमा हालसम्म १४ अर्ब ३० करोड १९ लाख रुपैंया असुली भएको छ । यो चालु आर्थिक वर्षको लागि विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैंया असुली गर्ने लक्ष्य दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्