तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ: सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ ।

विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो ।

आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचार विरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो । उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको बताउनुभयो । त्यस अवसरमा सभामुख सापकोटाले विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभयो ।

सत्य कुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचार विरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिबद्धता जनाउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो । यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौँ भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ ।”

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीन दिने कार्टुन प्रदर्शनी सुरु भएको हो ।

भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो । प्रदर्शनीमा ३६ जनाका ५० कार्टुन समावेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button