फिक्कलमा वसन्त काव्य उत्सवमा रमाए कवि मन

इलाम । इलाम आफैमा साहित्यको उर्वर भूमि हो । यहाँ पछिल्लो समय साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । शनिवार फिक्कल साहित्यमय भयो ।दुई दिनसम्म फिक्कल बजारमा सागींतक कार्यक्रममा नाचेका इलामेली शनिवार नेपाल र भारतका साहित्यकारहरूको साहित्य रसमा रमाए । यो अवसर जुटाएको थियो देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान काठमाडौँले ।
वसन्त काव्य उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सूर्योदयनग्पालिका फिक्कलमा सम्पन्न भएको हो । नेपालका महाकवि लक्ष्मी प्रसाद देवकोटा र चिनिया महाकवि लु सुनको नामबाट स्थापित प्रतिष्ठानले विगत लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा काम गर्दै आइरहेकोछ ।
प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार फिक्कलमा आयोजित कार्यक्रममा नेपाल र भारत सिक्किम लगायतका कविले नेपाली र हिन्दी भाषाका दर्जनौँ कविता वाचन गर्दा सूर्योदय नगरपालिकाको सभाहलको माहौल निक्कै रोचक भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष निनु चापागाईँको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायको प्रमुख आतिथ्यतामा भएको सभामा भारत सिलिगुडी पश्चिम बगालका वरिष्ठ साहित्यकार मोहन दुखुनलाई देवकोटा लु सुन प्रज्ञा पुरस्कार २०२० बाट सम्मान गरियो । कोरोना कहरका कारण घोषणा गरिए पनि २०२० मा दिन नसकिएको पुरस्कार अहिले प्रदान गरिएको आयोजकले जनाएको छ ।
कथा , उपन्यास , निबन्ध , नाटक, गितीनाटक, कविता , खण्डकाव्यको साथै साहित्यको बृहत् आयाम समेट्ने महाकाव्य जस्तो गहन विषयमा पनि कलम चलाउनु भएका दुखुनलाई रु ५० हजार राशिको पुरस्कारसहित सम्मान पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले सम्मान गर्नु भएको हो ।
सम्मान पछि साहित्यकार दुखुनले आफूले जीवनका उर्वर दिनहरूमा गरेका कर्मको फल अहिले पाउँदा निक्कै खुसी लागेको बताउनु भयो । उहाँले नेपाली साहित्यको क्षेत्रमा आफूले गरिरहेको कामलाई अझ मज्बुद बनाउँदै लानु पर्छ र थपअरु सेवा गर्नु पर्छ भन्ने प्रेरणा पुरस्कारबाट पाएको बताउनु भयो । उहाँले साहित्य ज्ञानको भण्डार भएको भन्दै साहित्य र साहित्यकारको सम्मान गर्नु आफैमा ज्ञानको भण्डारको सम्मान अवलम्बन गरेको हुने भएकोले साहित्यको सम्मान संरक्षण सबैले गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा साहित्यकार दुखुनको बारेमा पत्रकार साहित्यकार चन्द्र भण्डारीले चर्चा गर्नु भएको थियो ।
प्रमुख अतिथि उपाध्यायले नेपाली भाषीहरू विश्वको सबै कुना कुनामा पुगिरहेको र यो समयमा नेपाली साहित्य नेपाली भाषा विश्व भाषाको रुपमा विकसित हुँदै गएको बताउनु भयो । अब विश्वका जुन देशमा भए पनि नेपाली भाषीहरूले नेपाली भाषालाई मान्यता दिन सबै देशमा आवाज उठाउन जरुरी रहेको उहाँको भनाई छ ,। उहाँले चाडै प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय कवि गोष्ठी आयोजना गर्ने जानकारी दिँदै देवकोटा सग्राहलय आगामी असार मसान्तसम्म उद्घाटन हुने जानकारी दिनु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने एक अनुवादकलाई रु दुई लाखको वार्षिक पुरस्कार स्थापना गरेको तथा अन्य विभिन्न पुरस्कार स्थापना गरेको बताउँदै कला भाषा साहित्यको क्षेत्रमा सबैले महसुस गर्ने गरी ठोस कदम चालिरहेको दाबी गर्नु भयो ।
उहाँले प्रतिष्ठानले १ लाख ५० हजार शब्दको नेपाली शब्दकोशसमेत ल्याउन लागेको जानकारी दिनु भयो ।
कार्यक्रममा सिक्किम सरकारको अन्य तथा अल्पसङ्ख्यक उत्थान समिति अध्यक्ष साहित्यकार पवित्र भण्डारी सिक्किम सरकारका पूर्व सचिव किरण रसाइली लगायतले मन्तव्य राख्नु हुँदै भाषा साहित्यको कुनै भूगोल सिमाना नहुने भएकोले नेपाली साहित्यको उत्थान विकासमा विश्वका जुनसुकै देशमा रहका नेपालीहरू एक भएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सुशिल पौडयालको नश्वर जीवन कविता संग्रह विमोचन गरिएको छ । कार्यक्रममा देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको हारमोनीको पनि लोकार्पण गरिएको थियो ।
देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चापागाईँले निक्कै मेहनतका साथ प्रज्ञा प्रतिष्ठान स्थापना गरेको सुनाउँदै चीनको एकेडेमीसँग निरन्तर समन्वय गरेर दुवै देशमा कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले नेपाली साहित्यको विकासमा केही योगदान गर्ने लक्ष्यले प्रतिष्ठान स्थापना भएको र सबैको साथ सहयोग सहकार्यमा लक्ष्यलाई भेटाउन सफल भइरहेको भन्दै साथ सहयोगको लागि सबैमा धन्यवाद दिनु भयो । फिक्कलमा कार्यक्रम गर्दागर्दै दुबे देशमा साहित्यलाई अझ मलजल पुग्ने भएकोले यसले नेपाली साहित्यको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार गीतकार सगींतकार गायक गणेश रसिक ,सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई , लगायत १ सय बढी कवि कवयित्री लेखक पत्रकार बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल र भारतका २२ जना कवि कवियत्रीहरुले नेपाली तथा हिन्दी भाषाका कविता वाचन गरेका थिए ।
सहभागी सबैले दुई देशको साहित्य अनुरागीहरूको मिलन हुने अवसर भएको भन्दै नेपाली साहित्यको विकासको लागि कार्यक्रम कोशेढुङ्गा साबित भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्