नेपालको विकासमा जापान सरकारको सहयोग महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खड्का

काठमाडौँ । परराष्ट्र मन्त्री डा.नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एसोसिएसन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई सर्त बिना नै सहयोग गरिरहेको छ भन्नुभयो ।
विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल–जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उहाँले जानकारी गराउनुभयो । सुरुआती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुसरण गर्न लायक रहेको मन्त्री खड्काले बताउनुभयो ।
उहाँले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गर्नुभयो । मन्त्री खड्काले भन्नुभयो, “तपाईँहरू नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक राजदूत पनि हुनुहुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ ।” उहाँले चाखलाग्दो इतिहास बोकेको जापानबाट धेरै कुरा सिक्न सकिने पनि बताउनुभयो ।
एसोसिएसन जापानमा अध्ययन भ्रमण, तालिममा सहभागी भएर फर्किएका नेपालीहरूको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पुर्याउँदै आएको छ ।
सन् १९७३ मा स्थापना भएको एसोसिएसनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् । एसोसिएसनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको सो कार्यक्रममा एसोसिएसनका अध्यक्ष रामचन्द्र भुसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्