पर्यटकको आकर्षणको केन्द्र बन्दै सल्यानका पर्यटकीय क्षेत्र

सल्यान । कोरोनाका कारण सुस्ताएको सल्यानको पर्यटन पुरानै लयमा आउन थालेको छ ।
लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले बिस्तारै गति लिन थालेको छ ।
कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेकाले जिल्लाका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थलभित्र पर्न सफल कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, नेपालको ठूलो शंख रहेको शंखमूल पार्क, छत्रेश्वरी शक्ति पिठ लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै जान थालेको छ ।
नेपालकै ठूलो शंख निर्माण गरिएको शंखमुल पार्कमा दैनिक २ सयदेखि ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

शंखपार्कमा दैनिक जसो २ सयभन्दा बढी पर्यटक आउने गरेको बताउनुहुँदै उहाँले बिदाको दिनमा ३ सयदेखि ४ सयसम्म पुग्ने गरेको बताउनुभयो । शंखपार्कमा बढी मात्रामा जिल्लाका आन्तरिक पर्यटकका साथै, दाङ, सुर्खेत, नेपालगञ्जसम्मका पर्यटक आउने गरेको श्रेष्ठको भनाई छ ।
जिल्लाको अर्को पर्यटकीय नगरी कुपिण्डे तालमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । कुपिण्डे तालमा पर्यटक आउने सिजन पनि भएकाले पनि पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाका कारण दुई वर्षदेखि पर्यटक ठप्प भएको कुपिण्डे तालमा अहिले पर्यटकको वृद्धि भएको कुपिण्डे ताल डुङ्गा व्यवसाय लघु उद्यमी समूहका अध्यक्ष धनसिङ गोसाईले जानकारी दिनुभयो ।
बिदामा ५ सयभन्दा बढी पर्यटक आउने गरेको बताउँदै उहाँले अहिले २३ वटा डुङ्गाबाट पर्यटकलाई सेवा दिँदै आइरहेको बताउनुभयो ।
सल्यानको कुपिण्डे ताल सोचेभन्दा निकै रमणीय रहेको सुर्खेतका विमल न्यौपानेले बताउनुभयो । यातायात, सञ्चार, ताल वरपर बगैँचा निर्माण र राम्रो होटेलको व्यवस्था गर्न सक्ने हो भने तालमा अझै पर्यटकको सङ्ख्यामा वृद्धि आउने उहाँको भनाई छ ।
कुपिण्डे तालमा धेरै जसो सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, बाँके, बर्दियासम्मका पर्यटक आउने गरेको गोसाईको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्