स्थानीय तहको निर्वाचन र बालबालिका बारे राजनीतिक संवाद
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको राजनीतिक संवादमा विभिन्न राजनीतिक दलका नेताहरूले स्थानीय तहको निर्वाचनको घोषणापत्रमा बालबालिकाका विषयलाई महत्त्व दिने जनाएका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रको भविष्य उज्यालो बनाउने हो भने राज्यको ध्यान बालबालिकातर्फ जानुपर्ने बताउनुहुँदै पार्टीले चुनावी घोषणा पत्रमार्फत बालबालिकाको विकास र संरक्षणमा जोड दिने बताउनुभयो ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्व ताका विद्यालयहरू सबैभन्दा बढी प्रभावित भएको स्मरण गराउनुहुँदै एमाले महासचिव पोखरेलले भविष्यका मतदाता समेत रहेका अहिलेका बालबालिका संरक्षण गरी भोलि असल नागरिक बनाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियारले बालबालिकामाथि घरपरिवारबाटै हिंसा र विभेद हुने गरेको बताउनुभयो । संविधान निर्माणका क्रममा पर्याप्त छलफल र चासो राखेर बालबालिकाका विषयलाई सम्बोधन गरिएको उल्लेख गर्नुहुँदै उहाँले बनेका नीति र कानुनहरूको कार्यान्वयनका लागि नेपाली काँग्रेस पार्टी प्रतिबद्ध भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई दुरुपयोग नगरिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बाल अधिकारकर्मी गौरी प्रधानले बालबालिकाको संस्थागत विकासमा नेपालले ठूलो फड्को मारेको बताउनुभयो ।
त्यसैगरी, अधिकारकर्मी इन्दु तुलाधरले निर्वाचन आचारसंहितामा समाविष्ट निर्वाचन प्रचार प्रसारका क्रममा बालबालिका र विद्यालयको प्रयोग गर्न नहुने जस्ता प्रावधानहरूको पालना हुनुपर्ने बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले स्थानीय तहको निर्वाचनमा दलहरूले जारी गर्ने घोषणा पत्रमा बालबालिकाका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्