गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

ललितपुर । नेकपा (माओवादी केन्द्र) का नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिनुभएको छ ।
ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।”
जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।”
यसैबीच ऊर्ज मन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको अर्थतन्त्र सबल बनाउन स्वदेशी उत्पादनलाई प्रयोग गरौँ, विद्युतीय सवारी साधन तथा भान्सामा विद्युतीय चुल्हो प्रयोग गरौँ ।”
बिलासीताका वस्तु मात्र नभई अर्बौँको खाद्यान्नसमेत विदेशी मुलुकबाट आयात हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले पछिल्लो समय सरकारले अत्यावश्यकबाहेक केही सामग्रीको आयात कडाइ गरेको जानकारी दिनुभयो ।
जलविद्युत्बाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उहाँले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको छ भन्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्