धुलिखेलमा ‘दिगो विकास’ का चार लक्ष्य पूरा

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको जनाइएको छ ।
दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदनमा दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वैच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको छ ।
निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयको घरमा खानेपानी (एक घर, एक धारा) पुर्याएको, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
नगरले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीको लागि भएका प्रयासको स्वैच्छिक स्थानीय समीक्षापश्चात् प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
यही साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीको लक्ष्य पूरा गरी प्रतिवेदन सार्वजनिक गरिएको नगरप्रमुख अशोक ब्यञ्जुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अबको केही महिनामा ९९ प्रतिशत जनताको घरघरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्षभित्र औसत गरिबीको सङ्ख्या शून्यमा पुर्याउने लक्ष्य नगरले लिएको छ ।”
उहाँका अनुसार शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयमा ‘एमजीएमल’ विधि, अङ्ग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माणलगायतका कार्य गरेको छ ।
दिगो विकास लक्ष्यका नेपालस्थित अभियन्ता दयासागर श्रेष्ठका अनुसार दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वैच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर हो ।
“दिगो विकास लक्ष्यका लक्ष्य पूरा भएपछि स्थानीय तहले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, यसका धुलिखेल पहिलो हो, अब अन्य स्थानीय तहले गर्नेछन्”, उहाँले भन्नुभयो ।
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।
दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको थियो ।
विश्वभरका राष्ट्रिय सरकार तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महत्त्वाकाङ्क्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्य तय गरिएका हुन् ।
नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२६०मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाएको छ ।
स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।
खनिज तत्त्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । “धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ”, ब्याञ्जुले भन्नुभयो ।
उहाँका अनुसार अब स्वस्थ सहर अभियानका सर्वदलीय अपनत्व बढाइनेछ । नगरद्वारा भविष्यमा समेत जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।
साथै, ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न नगरले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजना बनाएको जनाइएको छ ।
नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाँै नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्