तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरू नियुक्त

इस्लामावाद। पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको छ ।

सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको हो ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ ।

त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेबारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेबारी मार्यम औराङजाबलाई दिइएको छ ।

मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उहाँको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

उहाँले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गर्नु भएको छ । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उहाँले निर्णय गर्नु भएको छ ।

पाकिस्तान मुस्लीम लिग — नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको हो ।

विपक्षी दलको नेतृत्व गर्दै आउनु भएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज शरिफका भाइ हुनुहुन्छ । लाहोरमा जन्मिनु भएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बन्नु भएको थियो ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button