फेवा नव वर्ष महोत्सवमा ३० प्रतिशत छुट हुने
कास्की । १७ औं संस्करणको फेवा नव वर्ष महोत्सव बुधवारदेखि आयोजना हुँदै छ ।
नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकहरूको सङ्ख्या ह्वातै बढेको छ । होटेलहरूले ग्राहकहरूलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको पश्चिमाञ्चल होटेल सङ्घले जनाएको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटेल सङ्घ पोखराको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाली नयाँ वर्षको अवसरमा होटेल सङ्घ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी ‘सडक महोत्सव’को नामबाट गर्ने महोत्सव बुधवारदेखि सुरु हुन लागेको हो ।
होटेल सङ्घ पोखराले रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दै छ । रेवान पोखराले हरेक अङ्ग्रेजी नयाँ वर्षमा ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवको पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिनुभयो ।
बुधवार र बिहीबार हुने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याति प्राप्त तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्ट लगायत रहने जनाइएको छ ।
लेक साइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटेलहरूले बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहे अनुसारको स्वाद लिनेछन् ।
महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन् । त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्का लगायतका कार्यक्रम हुने जनाइएको छ ।
सडकमा महोत्सव हुने भएकाले लेक साइडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइने आयोजकले जनाएको छ । होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार पूर्वमा सहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ । भित्री बाटोबाट स्थानीय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइने अध्यक्ष सुबेदीले बताउनुभयो ।
महोत्सवको अवसरमा होटेल सङ्घले आफू मातहतका होटेलहरूमा ३० प्रतिशत छुट दिने बताएको छ । अध्यक्ष सुबेदीले सङ्घमा आबद्ध होटेलहरूबाट छुट दिने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा स्थानीय अन्नपूर्ण केबलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्