तपाईँ सुन्दै हुनुहुन्छः

सयौँ वर्ष पुरानो समाधिस्थ जोगाउन दशनामी समाजद्वारा अभियान 

भक्तपुर । सँयाै वर्ष अघिदेखि आफ्ना पुर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरुले आफ्नो समाधिस्थको संरक्षण अभियान सुरु गरेका छन् । 

भक्तपुर नगरपालिका हनुमानघाटमा रहेको दशनामीहरुको मृत्यु पश्चात् पार्थिव शरीरलाई जमिनमा समाधिस्थ गरी अन्त्येष्टि गर्दै आएको भक्तपुरको हनुमान घाटस्थित समाधिस्थ संरक्षण अभियान सुरु गरेका हुन् ।  

भक्तपुर नगरपालिकाले जथाभाबी फोहोर थुपारिदिने, शवको समाधि गर्न नै समस्या पर्ने गरी ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थ नै कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरे पछि भक्तपुरका दशनामीहरुले  समाधिस्थको सफाई अभियान नै सुरु गरेका छन् । 

भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरुले सयौँ वर्ष अगाडिदेखि शव व्यवस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेश विपरीत संरचना निर्माण गर्दै व्यायाम गर्ने स्थल बनाउन थालेको उनीहरूको आरोप छ ।

भक्तपुर नगरपालिकाले विभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहोर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामानहरूलाई निकालेर अन्यत्र लगेर व्यवस्थापन गरिएको छ ।

दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभाबी गरिरहेको बताउँदै अरूको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नु पर्ने बताउनु भयो । 

समाधिस्थको सफाई अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रवीन्द्र पुरीले दशनामीहरु आफै भेला भएर अभियानमा लागेको र संरक्षणका लागि रु. आठ लाख रुपैयाँ आर्थिक सङ्कलन भएको बताउनु भयो ।

भक्तपुर नगरपालिका भित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रबाट सहभागी भएका ५०० भन्दा बढी दशनामीहरुले समाधिस्थको सफाई गरेका छन् । 

त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यवस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन लागे पछि भक्तपुर नगरपालिकाले अवरोध गरे पछि सर्वोच्च अदालतमा यस विरुद्ध रिट नै परेको थियो । 

सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थ भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेश नै जारी गरेको थियो ।

नगरपालिकाले समाधिस्थको  अतिक्रमण गर्दै आएको उनीहरूको गुनासो छ । 

कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थको पश्चिमपट्टी नगरपालिकाले सिमेन्टको इँटा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको उनीहरूको आरोप छ ।

दशनामीले यसको बिरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्परा विरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् । यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जङ्गम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधिस्थ गर्दै आइरहेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button