तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी विजयी हुनु राष्ट्रले जित्नु हो : अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धि रक्षाका लागि माओवादीले निर्वाचन जित्नै पर्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले लडेर ल्याएको उपलब्धि रक्षाको जिम्मा माओवादीको काँधमा नै आएको बताउनुभयो । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीले लडेर ल्याएको हो, यसको रक्षा गर्ने दायित्व माओवादीको नै हो”, अध्यक्ष दाहाले भन्नुभयो, “अरूका लागि चुनाव हो, तर हाम्रो लागि निर्वाचन लडाई हो ।” निर्वाचनको समय नजिक आइसकेको भन्दै उहाँले निर्वाचन भीषण तयारीमा लाग्न आग्रह गर्नुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूले लडेर ल्याएको भन्दै अध्यक्ष दाहालले त्यसको वास्तविक माया माओवादीलाई मात्र भएको बताउनुभयो । “अन्य दललाई परिवर्तनको माया छैन, हामी यही व्यवस्थाबाट जनताको समृद्धि होस् भन्नेमा छौँ”, उहाँले भन्नुभयो । 

फरक कार्यक्रममा अध्यक्ष दाहालले कैलाली जिल्लामा माओवादी प्रवेशको लहर चलेको र २०६४ सालको नतिजा फर्कने सम्भावना प्रबल भएको बताउनुभयो । नेत्र विक्रम चन्दको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पनि माओवादी प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिँदै उहाँले कैलालीमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गर्नुभयो । 

कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चौधरीलगायत नेकपा (एमाले) कैलाली र सोलुखुम्बुका सयौँ नेता कार्यकर्ता माओवादी प्रवेश गर्नुभएको थियो । “यसले सुदूर पश्चिमका साथै देशभर नै प्रभाव पर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “देशभरका माओवादी कार्यकर्तालाई फेरि एकचोटी एकीकृत हुन आह्वान गर्ने गरी संसारभर फैलिएको छ, निर्वाचनको ब्याटल जित्नुपर्ने छ । निर्वाचनको समयमा एक जुट भएका छौँ ।”

पश्चिममा मात्र होइन पूर्वको सोलुखुम्बुमा पनि पार्टीप्रतिको आकर्षण बढेको र एमाले परित्याग गरी माओवादी प्रवेश गर्ने क्रम बढेको उहाँले बताउनुभयो । “एमालेले कस्तो राजनीति गरिरहेको छ भन्ने तपाईँहरूले पनि अनुभव गर्नुभएको, मैले पनि तीन वर्ष एउटै पार्टीमा रहँदा अनुभव गरेँ”, अध्यक्ष दाहालले भन्नुभयो, “अब हामी एक भएका छौँ, हामीले ब्याटल जित्नुपर्छ, माओवादीले निर्वाचन जित्नु राष्ट्र, परिवर्तन, गणतन्त्र, सङ्घीयताले जित्नु हो ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button