जाजरकोटमा निर्वाचनको तयारी तीव्र
जाजरकोट । आसन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय जाजरकोटले तयारी तीव्र पारेको छ ।

मतदान स्थल, मतदान केन्द्रको निर्धारण तथा जनशक्ति व्यवस्थापन लगायतका काम भइरहेको छ । जिल्लामा ८५ मतदान स्थल तथा १ सय ४२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नृपराज उपाध्यायले बताउनुभयो ।

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावली अनुसार जाजरकोटमा मतदाताको सङ्ख्या १ लाख ३ हजार ८ सय ६९ रहेको छ भने अन्यमा २ जना मतदाता रहेका छन् ।
८५ ओटै मतदान स्थल तथा १ सय ४२ मतदान केन्द्रमा सुरक्षाको राम्रो प्रबन्ध हुने प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना बनाएर अगाडि बढेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिनुभयो । प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी तथा नेपाली सेना लगायतका सुरक्षा निकाय परिचालित हुने सहायक प्रजिअ केसीले बताउनुभयो ।
जाजरकोटमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, सामाजिक एकता पार्टी, राप्रपा नेपाल, मौलिक जरो किलो पार्टी, जनजागरण पार्टी, नेपाली काँग्रेस वि.पी, उन्नत लोकतन्त्र पार्टी गरी १२ राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
जाजरकोटमा ३ नगरपालिका र ४ गाउँपालिकाभित्र ७७ वटा वडा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्