सप्तरीलाई राम्रो सप्तरी बनाउनेमा पत्रकारहरूको सहयोग अपरिहार्य : नगरप्रमुख मिश्र

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले हाम्रो सप्तरीलाई राम्रो सप्तरीमा रूपान्तरण गर्न सञ्चारकर्मीहरूको सहयोगी भूमिका अपरिहार्य हुने बताउनु भएको छ ।
कञ्चनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासङ्घ सप्तरीको आयोजनामा राजविराजमा मङ्गलवार आयोजित पत्रकार आचारसंहिता सम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मिश्रले विकास, सुशासन र समृद्ध समाज निर्माणमा पत्रकारहरूको भूमिका अपरिहार्य भएको बताउनुभयो । विकास र सुशासन कायम गर्न पत्रकारहरूले खबरदारी गर्न अति आवश्यक छ, नगरप्रमुख मिश्राले भन्नुभयो, हाम्रो सप्तरीलाई राम्रो सप्तरी बनाउन सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य हुन्छ ।
नगरप्रमुख मिश्रले देशमै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता राख्ने व्यक्ति भएको दाबी गर्नुभयो । म भ्रष्टाचार विरोधी मेयर हो, उहाँले भन्नु भयो, मैले भ्रष्टाचार गरेको आधार प्रमाण सहित आए तत्कालै पदबाट राजीनामा दिन्छु । पत्रकार मित्रहरूले मेरो बारे सकारात्मक वा नकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिश्रले पत्रकारितालाई तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरे पत्रकारहरूको मर्यादा थप उच्च हुने बताउनुभयो । नगरप्रमुख मिश्रले स्थानीय तहमा भएका बेथिति र अनियमिततालाई पत्रकारहरूले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकार आचारसंहिता पालनाले आफैँलाई फाइदा पुग्ने बताउनुभयो । पत्रकार आचारसंहितामा पालना गर्नु पत्रकारहरूको दायित्व भएको बताउँदै उहाँले आचारसंहिताले पेशालाई मर्यादित र सम्मानित बनाउने हुँदा सबैले आफैँमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यशालामा पत्रकार महासङ्घका केन्द्रिय सदस्य ललिता साह, सप्तरी शाखाका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, मुरली प्रसाद यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सप्तरीमा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम कार्यरत पत्रकारहरू सहभागी कार्यशाला गोष्ठीको सहजीकरण काउन्सिलका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार राजेन्द्र दाहालले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्