फलेवास नगरपालिकामा पाँच वर्षका १०० उपलब्धि सार्वजनिक

पर्वत । पर्वतको फलेवास नगरपालिकाले पाँच वर्षे उपलब्धि सहितको स्वेतपत्र सार्वजनिक गरेको छ ।नगरपालिकामा आयोजित जग्गादाता सम्मान कार्यक्रमका बीच पाँच वर्षका १०० उपलब्धिहरू सार्वजनिक गरिएको हो ।
नेपाल नगरपालिका सङ्घबाट उत्कृष्ट भएर पुरस्कृत समेत भएको नगरपालिकामा दर्जनौँ राम्रा अभ्यास र विकास निर्माणका कामलाई स्वेतपत्रमा समावेश गरिएको छ । नगरपालिकाले जारी गरेको स्वेतपत्रमा नगर विकास गुरुयोजना निर्माण, नगर विकास योजना निर्माण, नगरको विकासका लागि गौरव तथा रूपान्तरण गर्ने योजना कार्यान्वयन, भौतिक विकास, पूर्वाधार निर्माण, सामाजिक विकास, पर्यावरण संरक्षण तथा संस्थागत र सुशासनका क्षेत्रमा गरिएका प्रयासहरूलाई समावेश गरिएको छ ।
फलेवास नगरपालिकामा शहरीकरण नभइसकेको र विगतमा ११ वटा गाउँ विकास समितिलाई मिलाएर घोषणा भएका कारण धेरै पूर्वाधार तथा विकास निर्माणका काम हुन नसकेको अवस्थामा नगरपालिकाका जनप्रतिनिधिले पाँच वर्षमा धेरै राम्रा अभ्यासका काम गरेका थिए । फलेवास नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजनाको लागि निरन्तर प्रयास र लबिङ गरेको थियो भने पोखरा–कार्किनेटा–खानीगाँउ हुँदै वाग्लुङको जैमनी–गल्कोट जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको काम निरन्तर रुपमा चलाइरहेको छ भने पोखरा, लुम्ले, अन्नपूर्ण पदमार्गको पर्यटकीय लाभ लिन सक्ने गरी योजना सहित मनमोहन शान्तिबाटिका तथा खुम होमस्टे प्रवर्द्धनको काम गरिएको छ ।
फलेवासको बहुआयमिक विकासका लागि ग्रिन फलेवास, क्लिन फलेवास अभियान सञ्चालन गरिएको छ । क्लिन हाउस, ग्रिन हाउस, क्लिन क्लिन स्कुल, क्लिन रोड, ग्रिन रोड, ग्रिन रोड क्लिन टोल ग्रिन टोल अभियान सञ्चालन भएको छ । यो अभियानमा ५ हजार भन्दा बढी घरधुरी समावेश भएका छन् ।
फलेवासमा ४ सय १२ किलोमिटर नयाँ सडकको ट्र्याक खनिएको छ । नगरपालिकाले आफ्नै २ वटा डोजर मार्फत निरन्तर सडक सफा गर्ने, ट्र्याक खोल्ने देखि स्तरउन्नतीका काम गर्दै आएको छ । बाहिरी, भित्री चक्रपथ, लिङ्क रोड बनाउने काम पनि यो अवधिमा भएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य सेवा, शिक्षा, उद्योगबाट रोजगार सृजना लगायतका नमुना काम पनि गरेको छ । फलेवासले नगरभित्रका ५० बर्ष देखि ७० बर्ष सम्मका एकल पुरुष र महिलालाई मासिक भत्ता वितरण गर्दै आएको छ । श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै रु.५ सय जम्मा गर्ने र नगरपालिकाले रु.५ सय थपेर भविष्यमा पेन्सन सुविधा दिने काम पनि शुरु गरेको छ ।
नगरप्रमुख पदमपाणी शर्मा आफ्नो टिम निर्वाचित भएर आएपछि फलेवासमा हरेक क्षेत्रमा उत्कृष्ट बनाउन सफल भएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार नगरपालिका सङ्घबाट वित्तीय व्यवस्थापन तथा सुशासनका क्षेत्रमा उत्कृष्ट बनेर पुरस्कृत भएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्याङ्कनमा गण्डकी प्रदेशका ८१ वटा स्थानीय तहमध्ये फलेवास उत्कृष्ट भएको छ । वित्तीय जोखिम निरीक्षणका क्रममा फलेवासले ८७ दशमलव ७ अङ्क हासिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्