सोलुमा दुई दिनदेखि टेलिकमको सेवा अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल टेलिकमको सेवा दुई दिनदेखि अवरुद्ध हुँदा लाखौँ सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण टेलिकमको ओखलढुङ्गादेखि पत्ताले क्षेत्रका विभिन्न स्थानको अप्टिकल फाइबरमा क्षति पुर्याउँदा सेवा अवरुद्ध बनेको जनाइएको छ ।
नेपाल टेलिकम सल्लेरी शाखाका सूचना अधिकारी रञ्जु फुयाँलका अनुसार आइतबार दिउँसो परेको चट्याङका कारण ओखलढुङ्गा र पत्तालेको मध्य भागमा जमिन मुनी बिछ्याइएको अप्टिकल फाइबरमा आगो लागेको छ । नेपाल टेलिकमको मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा समेत ठप्प भएको छ भने सिस्टम नचल्दा टेलिकम कार्यालय सल्लेरीबाट प्रवाह हुने सेवा समेत प्रभावित बनेको छ ।
समस्या समाधानका लागि सल्लेरीस्थित कार्यालयबाट प्राविधिक सहितको टोली परिचालन भइसकेको कार्यालय प्रमुख महम्मद अकबर अलीले जानकारी दिनुभयो । धेरै ठाउँको फाइबरमा क्षति पुगेकाले समाधान हुन केही दिन लाग्ने कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्