तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

काठमाडौँ ।निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ ।

समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिवका रूपमा रहनुभएको छ । मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयअनुसार गोकर्णमा निर्माण सुरु भएको सहिद एवं निजामती स्मारकको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएर अलपत्र अवस्थामा छ । स्मारक निर्माणका लागि सरकारले रु ३० करोडभन्दा बढी खर्च गरिसकेको छ ।

अलपत्र अवस्थामा रहेको संरचना निर्माणमा सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय सहिद उद्यान निजामती स्मारकको एकीकृत वन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ को मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश भएको पनि उहाँले जानकारी दिनुभयो ।

निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । प्रस्तावित निर्देशिकाबमोजिम समिति अध्यक्ष सिग्देलको संयोजकत्वमा उद्यान निर्माण कार्यदल सहजीकरण तथा कार्यान्वयन समिति पनि गठन गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button