तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मकवानपुर जिल्लामा तयारी तीव्र रुपमा भइरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक प्रेस नोट जारी गर्दै जिल्लाभित्र १० वटा स्थानीय तहमा कुल १६५ वटा मतदान स्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम भएको जनाएको छ ।

कार्यालयका अनुसार सुरक्षाको दृष्टिकोणले १६५ वटा मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेको छ । जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका विशेष सुरक्षा योजना अनुसार काम भइरहेको जनाइएको छ ।

गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको छ । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशतभन्दा बढी मतदान स्थल तथा मतदान केन्द्रहरूको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट निरीक्षण समेत भएको जनाइएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरू चैत मसान्तसम्म प्रहरी इकाईमा बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

यस्तै, निर्वाचन लक्षित जिल्लामा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी छनौट गरी सोमबारबाट तालिम प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदान स्थल र मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्य समेत भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

म्यादी प्रहरी प्रशिक्षण आजबाट सुरु
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छनौट भएका म्यादी प्रहरीहरूको प्रशिक्षण आजबाट सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्ना भई छनौट भएका म्यादी प्रहरीहरूको प्रशिक्षणको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आज उद्घाटन गर्नुभएको हो ।

प्रशिक्षणमा म्यादीमा छनौट भएका १४ सय ७१ जना सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो । प्रशिक्षण १० दिनसम्म चल्ने उहाँले बताउनुभयो । म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३ हजार ७ सय जनाले आवेदन दिएका थिए ।

उद्घाटन कार्यक्रममा पुरानो गोरख गण, सुपारे टार ब्यारेक हेटौँडाका प्रमुख सेनानी सुवास चन्द्र महत, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की, म्यादी प्रहरी भर्ना छनौट उपसमितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button