तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै खाद्य कम्पनी

सुर्खेत । दुर्गममा खाद्यान्न अभाव हुन नदिन सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिलो चरणमा खाद्यान्न अभाव हुने कर्णालीका दुर्गमका जिल्लाका नागरिकलाई लक्षित गरी सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

कम्पनीले सुर्खेतको वीरेन्द्रनगरमा सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनसम्बन्धी अभिमुखीकरण तथा परामर्श कार्यक्रमको आयोजना गरी चाँडै दुर्गममा सहकारी मार्फत सहुलियत मूल्यको खाद्यान्न उपलब्ध गराउने गृहकार्य चलिरहेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बढ्दो मूल्यलाई नियन्त्रण गर्नुका साथै विपन्न सहरी एवं दुर्गमका नागरिकलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा बाह्रै महिना सहज रुपमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सहकारी मार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले दुर्गममा सुपथ मूल्य पसल सञ्चालनका लागि ढुवानीको मुख्य समस्या रहेकाले तीनै तहका सरकारसँग सहकार्य गर्दै हेलिकोप्टर, हवाईजहाज, घोडा खच्चड र पैदल बाटो प्रयोग गरी नागरिकसम्म सहजै खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन कम्पनी जुटेको बताउनुभयो ।

कार्यक्रममा कम्पनीका नायब प्रबन्धक मणिराज खनाल, विक्री वितरण विभागीय प्रमुख भीमबहादुर थापा तथा सम्पत्ति व्यवस्थापन विभाग प्रमुख माधवप्रसाद अर्यालले देशैभरि सहज रुपमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन सहकारी मार्फत सहुलियत मूल्य पसल सञ्चालनका लागि सम्बन्धित क्षेत्रका सहकारीहरूसँग अभिमुखीकरण तथा परामर्श कार्य भइरहेको बताउनुभयो ।

सरकारबाट स्वीकृति मिल्ने बित्तिकै सहकारी मार्फत सहुलियत मूल्य पसल सञ्चालनमा आउने उहाँहरूको भनाइ छ ।

कार्यक्रमका सहभागी सहकारी सङ्घसंस्थाका प्रतिनिधिहरूले सहुलियत मूल्य पसल सञ्चालन गरेबापत पाउने हाल कायम ६/७ प्रतिशतको अनुदानलाई बढाउनुपर्ने, ढुवानी खर्च उपलब्ध गराउनुपर्ने, सके ढुवानीको जिम्मा समेत सहकारीलाई नै दिनुपर्ने, सहुलियत मूल्य पसलको प्रचार प्रसार गर्नुपर्ने, सुपथ मूल्य पसल सहरमा भन्दा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्ने, सहुलियत मूल्य पसल सहकारीलाई आयातमुखी भन्दा उत्पादनतर्फ समेत जोड्न कम्पनीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button