तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा टी–२० क्रिकेट प्रतियोगिता, १६ टिमको सहभागिता

जनकपुरधाम । जनकपुरधाममा टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला त्रिक्रेट सङ्घको आयोजनामा जनकपुरधामको बाह्र विघा रङ्ग भूमि मैदानमा प्रतियोगिता सुरु भएको हो ।

कोरोना महामारीका कारण पछिल्लो वर्ष आयोजना हुन नसकेको प्रतियोगिताको दोस्रो संस्करण यस वर्ष सुरु भएको जिल्ला त्रिक्रेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

हिजोदेखि सुरु भएको प्रतियोगिता वैशाख ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगितामा मधेस प्रदेशका ८ वटै जिल्ला तथा भारतका केही टिम सहभागी छन् । खेलको शुभारम्भ निर्माण व्यवसायी एवं पूर्व खेलाडी दीपेन्द्र ठाकुरले गर्नुभएको थियो ।

प्रत्येक दिन २/२ वटा खेल नकआउट नियमको आधारमा हुने भएको छ । वैशाख ३ गते २ वटै सेमिफाइनल खेल र वैशाख ४ गते प्रतियोगिताको फाइनल खेल हुने प्रतियोगिताका संयोजक सरोज मिश्रले जानकारी दिनुभयो ।

करिब १२ लाख खर्च हुने टी–२० प्रतियोगिताको उपाधि जित्ने टिमलाई ५१ हजार र दोस्रो हुने टिमलाई २५ हजार राशिको पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । जनकपुर टी २० प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

आज भएको पहिलो खेलमा जनकपुर ११ ले धनुषाकै बगेवा टिमलाई १ सय १ रनले पराजित गरेको छ । पहिले व्याटिङ्ग गर्दै जनकपुरधामले १ सय ५५ रन बनाएकोमा प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएको बगेवा टिम ५४ रनमा समेटिएको थियो ।

जनकपुरका तर्फबाट सुयोग्य प्रजापतिले अविजित ९९ रन बनाएका थिए । खेलको म्यान अफ दि म्याचको उपाधि प्रजापतिले पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button