लोप हुँदै परम्परागत गहना
सल्यान । सल्यानका पहाडी क्षेत्रमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन् ।
नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका हुन् ।

पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन् । पुराना गरगहना पाउनै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरूको भनाई छ ।
नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केकी ५९ वर्षीया सर्केनी बस्नेतले बताउनुभयो । महिलाले लगाउने चाँदीका चवानी, ठुमराई, सिक्री, कम्पनीका माला, बुलाकी, नत्थी, ढुङ्ग्री लगायतका गहना अहिले कसैले पनि लगाउँदैनन् ।
नाकमा बुलाकी, पाते सुन, चापकी लगाउने महिला गाउँघरमा फाटफुट देखिने गरे पनि अन्य गहना लोप हुने अवस्थामा परेको ५८ वर्षीया ललि बुढाको भनाई छ । सहर बजारमा नयाँ डिजाइनका गरगहना पाइए पनि आफूलाई पुरानै गहना लगाउँदा आनन्द आउने उहाँले बताउनुभयो ।
सानै उमेर विवाह गरी आउँदा सासुले दिएका गहना भएकाले पनि पुराना गहना त्याग्न नसकेको बुढाको भनाई छ । नेपालगन्ज हाट जाँदा चाँदीका सिक्री, कम्पनी माला किनेर ल्याउने गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्