तपाईँ सुन्दै हुनुहुन्छः

रामनवमीमा जनकपुरधाममा धार्मिक मेला, धार्मिक प्रवचन  

जनकपुरधाम  । भगवान् रामको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा धार्मिक मेला लागेको छ । 

चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायत मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भिड लागेको छ ।  

रामनवमीको अवसरमा जानकी मन्दिरमा धार्मिक प्रवचनका आयोजना गरिएको छ ।  भारतको उडिसास्थित शंकराचार्यपीठका पिठाधिश शङ्कराचार्य निश्चलानन्द सरस्वतीले प्रवचन दिनुभएको थियो । 

यसैगरी, जनकपुरधामको राम मन्दिरमा ठुलो सङ्ख्यामा साधुसन्तहरु आएर धुनी रमाएका छन् । गुठी संस्थाले साधुहरूको भोजन तथा दक्षिणाको प्रबन्ध समेत गरेको छ । 

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान् राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्रको रुपमा जन्म भएको पौराणिक ग्रन्थ रामायणमा उल्लेख रहेको छ । आजको दिन रामको स्मृतिमा हिन्दु धर्मावलम्बीहरूले पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान एवं व्रत बस्ने गर्दछन् । 

रामगीता पाठ, अध्यात्म वाल्मीकि रामायण र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान् रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।

भगवान् विष्णु सातौँ अवतारको रुपमा अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्रको रुपमा जन्म लिनु भएको र भगवान् रामको शुभ विवाह मिथिलाका राजा जनककी सुपुत्री माता सीतासँग भएको स्मरणमा जनकपुरधाममा धार्मिक मेला लाग्ने गरेको छ । 

भगवान् रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातीलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button