सप्तरीमा टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ
सप्तरी । सप्तरीमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियानको आज शुभारम्भ भएको छ ।
सप्तरीको राजविराजस्थित केशो अनिरुद्धबत्ती माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साहले टाइफाइड विरुद्धको खोप अभियानको आज (शुक्रवार) शुभारम्भ गर्नुभयो ।
मन्त्री साहले ब्यानर पढेर अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले आजदेखि देशभर खोप लगाउन सुरु भएको बताउनुहुँदै नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैमा अनुरोध गर्नुभयो ।
सप्तरीमा १ हजार १ सय २५ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि २ हजार ६ सय ७१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
सप्तरीमा दुई चरणमा खोप अभियान सञ्चालन हुने भएको छ ।
डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्पुर गाउँपालिका, खडक नगरपालिका, वलान विहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकामा चैत्र २६ गतेदेखि चैत्र ३० गतेसम्म पहिलो चरणमा खोप अभियान हुने भएको छ ।
त्यसैगरी २०७९ वैशाख १ गतेदेखि ४ गते सम्म कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र रुपनी गाउँपालिकाको सबै संस्थागत तथा सामुदायिक विद्यालयमा खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्