तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्य बीमा सेवा सुचारु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यकीमा सेवा सुरु भएको छ । 

सरकारले स्वास्थ्यकीमा बापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यकीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो । 

आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यकीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बीमाको सेवा प्राप्तिका लागि अन्त भौँतारिनु नपर्ने बताउनुभयो । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बीमा बोर्डले तिर्नुपर्ने रु नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्द गर्नु परेको बताउनुभयो । 

यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गरी बीमा बापतको बाँकी रकम भुक्तानी गर्ने तथा बीमा सेवा छिटो सुरु गराउने बताउनुभएको थियो ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य मन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बीमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नुभएको बताउनुभयो ।

सेवा शुभारम्भ कार्यक्रममा(नेकपा समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यकीमा सुचारु गराउने स्वास्थ्य मन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका बिरामीले पाएको समस्याका बारेमा जानकारी गराएर पछि बीमा सुचारु गराउन सफल भएको बताउनुभयो । 

यसअघि बीमा सुचारु गराउन माग गर्दै (नेकपा माओवादी) केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बीमा सेवा सुचारु गर्न पहल गर्नु भएको थियो ।

आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बीमा सेवा सुरु भएपछि आजैदेखि बिरामीको चाप पनि अस्पतालमा बढेको छ । 

दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसियु, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् । आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसिआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो ।

अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो । 

स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् सिफारिस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button